एक करोड २५ लाखभन्दा बढी ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ, १७ मंसिर – वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने घटनामा वृद्धि भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका अनुसार दैनिक ४–५ वटा उजुरी वैदेशिक रोजगारीसम्बन्धी ठगीबारे दर्ता हुने गरेका छन्।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उजुरीको छानबिनका लागि विशेष टोली परिचालन गरिएको छ, र केही महत्वपूर्ण नतिजा पनि आउन थालेका छन्।
“आज मात्रै करोडौँ ठगीको आरोपमा तीन जनालाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालय पठाइएको छ,” आचार्यले जानकारी दिए।
कार्यालयका अनुसार पीडितहरूबाट करिब एक करोड २५ लाख ७८ हजार रुपैयाँभन्दा बढी रकम उठाई ठगी गरेको आरोपमा चितवन कालिका नगरपालिका घर भई हाल ललितपुर बस्ने श्यामचन्द्र अधिकारीलाई पक्राउ गरिएको छ।
उनले अल्बानिया, अजरबैजान, मेसिडोनिया, सर्बिया लगायत देशमा पठाइदिने भन्दै ठगी गरेको उजुरी दर्ता भएको हो। त्यस्तै, नवलपरासी घर भई हाल काठमाडौँ बस्ने दिलबहादुर सारु मगरलाई सर्बिया पठाइदिने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरीपछि पक्राउ गरिएको छ।
यस्तै, सर्लाही घर भई हाल ललितपुर बस्ने चन्द्रभूषण प्रसादलाई अल्बानिया पठाइदिने भन्दै ३ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
तीनै जना आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागि आजै सम्बन्धित जिल्ला प्रहरी कार्यालय पठाइएकाे उपरीक्षक आचार्यले जानकारी दिए।

