तनहुँमा सात नयाँ एचआइभी संक्रमित थपिए, एक जनाको मृत्यु

तनहुँ, १७ मंसिर – तनहुँमा हालसम्म ४५० जना एचआइभी/एड्स संक्रमित दर्ता भएका छन्। तीमध्ये २६८ जना संक्रमितले प्रदेश अस्पताल दमौलीबाट एआरटी औषधि नियमित रूपमा सेवन गरिरहेका छन् भने बाँकीले अन्य जिल्लाबाट उपचार लिइरहेका छन्।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीका अनुसार चालु आर्थिक वर्षमा सात जना नयाँ एचआइभी संक्रमित थपिएका छन्। चालु वर्षमै एक संक्रमितको मृत्यु भएको पनि उनले जानकारी दिए।

दवाडीले दमौली अस्पतालमा एचआइभी परीक्षण तथा उपचार केन्द्र व्यवस्था गरिएको बताउँदै जिल्लास्थित सबै स्वास्थ्य संस्थामा गर्भवतीका लागि एचआइभी परीक्षण सेवा उपलब्ध गराइएको उल्लेख गरे।

एचआइभी संक्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका प्रतिनिधि केशु गुरुङका अनुसार समाजमा रहेका पूर्वाग्रह र भयका कारण धेरै संक्रमित सार्वजनिक रूपमा खुल्न अझै हिच्किचाउने गरेका छन्।

Facebook Comments Box