समावेशी विकास तथा शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ, १७ मङ्सिर – प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकास लक्ष्य (SDGs) प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व, नेतृत्व र ऐक्यबद्धतालाई प्राथमिकतामा राखी समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले सरकार यस दिशामा सक्रिय रहेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा तथा पुनःस्थापनामा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच सुनिश्चित गर्न सरकारले विविध कार्यक्रम सञ्चालन गरिरहेको बताइन्। उनले आर्थिक–सामाजिक अवस्था र अपाङ्गताको गम्भीरताका आधारमा सेवा तथा सुविधा वितरणमा प्राथमिकता दिने राज्य नीतिलाई पुनः पुष्टि गरिन्।
सन्देशमा उनले भौतिक, सञ्चार, दृष्टिकोणजन्य तथा कानुनी अवरोध हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त, सम्मानजनक र समतामूलक वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरिन्। स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम, पुनःस्थापना तथा रोजगार–स्वरोजगारका कार्यक्रम तीन तहका सरकारबीचको संयुक्त प्रयासबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने विश्वास समेत उनले व्यक्त गरिन्।
प्रधानमन्त्रीका अनुसार नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि तथा विद्यमान कानुनहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको अधिकतम संरक्षण र प्रवर्द्धन सुनिश्चित गरेका छन्।
उनले अपाङ्गता क्षेत्रका सरकारी तथा गैरसरकारी संस्थालाई यस दिवसले थप प्रेरणा प्रदान गरी अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकको अधिकार तथा हितमा अझ प्रभावकारी ढंगले काम गर्ने ऊर्जा मिलोस् भन्ने कामना गरिन्।

