राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति

काठमाडौँ, १७ मङ्सिर – राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिसम्बन्धी संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताएका छन्। ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट वञ्चित व्यक्तिको पहिचान गरी राज्यले प्रदान गर्ने सुविधा तथा अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।

राष्ट्रपति पौडेलले अपाङ्गता भएका नागरिकलाई मर्यादापूर्वक जीवनयापन गर्ने हक संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै सार्वजनिक सेवा तथा सुविधामा समान पहुँच, समावेशीता र सहभागितामूलक सिद्धान्तअनुसार नीतिगत कार्यान्वयन गर्न आग्रह गरे।

उनका अनुसार कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, मठमन्दिर तथा अन्य सरकारी–निजी संरचनामा मैत्रीपूर्ण भौतिक पहुँच र आवश्यक सुविधा उपलब्ध गराउन राज्य र समाज दुवैले अग्रसर हुन आवश्यक छ। “अपाङ्गता भएका व्यक्तिप्रति समाजमा रहेका नकारात्मक धारणा हटाई समावेशी, समान, मानवअधिकारमैत्री र भेदभावविहीन वातावरण निर्माण गर्न सरकार, परिवार, समाज र सङ्घ–संस्थाको भूमिकाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु,” उनले भने।

संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि डिसेम्बर ३ लाई विश्वभर अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रूपमा मनाइँदै आएको छ। यस वर्ष नेपालमा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजित भएका छन्।

Facebook Comments Box