एकै दिन देशभर १७ स्थानमा आगलागी
काठमाडौँ, १७ मङ्सिर – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपद् घटना दर्ता भएको जनाएको छ। तीमध्ये १७ घटना आगलागीका रहेका छन् ।
बाँकी तीन घटनामा मुस्ताङमा लेक लाग्ने, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमण समावेश छन्। पर्सागढी नगरपालिका–३, झुलिटारकी ५५ वर्षीया एक महिला जंगलमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट घाइते भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आगलागी घटनाबाट करिब रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ। सिरहामा तीन, भोजपुरमा दुई तथा पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेमा आगलागीका घटना दर्ता भएका छन्। यी घटनामध्ये धेरैजसो असावधानीका कारण भएका बताइएका छन्।
गाइगोठमा खोले पकाउने, सुँगुरका लागि चारो तताउने, ग्यास चुल्हो नजिक आगो ताप्ने, विद्युत् तार सर्ट हुने तथा विद्युतीय सवारीसाधनमा अचानक आगलागी हुने घटना समेत दर्ज भएका छन्। प्राधिकरणका अनुसार सामान्य सावधानी अपनाएमा यस्ता धेरै आगलागी घटना रोक्न सकिने भए पनि घरेलु सतर्कता र जनचेतनाको कमी देखिएको छ।

