एउटै गाउँबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री
तनहुँ, १७ मङ्सिर – तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्ष रु दुई करोडभन्दा बढी मूल्यका सुन्तला बिक्री गरेका छन्। मङ्सिर महिनाभर सुन्तला टिपाइ र बिक्रीमा व्यस्त रहने यहाँका किसान अहिले पनि बगैँचा व्यवस्थापन र टिपाइमा जुटेका छन्।
बेनीकोटका किसान फलबहादुर थापाले यस वर्ष मात्र रु १६ लाख ५० हजारको सुन्तला बिक्री गरेको जानकारी दिए। सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षक रहेको उनले गाउँभर करिब रु दुई करोड बराबरको सुन्तला बिक्री भएको बताए।
त्यस्तै, किसान कालबहादुर रानाले रु चार लाखको सुन्तला बिक्री गरेको बताउँदै उत्पादन बिक्रीमा कुनै समस्या नभएको जनाए। रानाका अनुसार ठेकेदारहरू नै गाउँमा आएर बगैँचाको मूल्यांकन, बोट किन्ने, टिपाइ र ढुवानीसमेत व्यवस्था गर्छन्।
स्थानीय किसान मनसिंह थापाले सुन्तला खेती अन्य बालीभन्दा सहज र आयआर्जनका दृष्टिले आकर्षक भएको बताए। उनले यस वर्ष रु दुई लाख १० हजार बराबरको सुन्तला बिक्री गरेका छन्। व्यवसायी लेखबहादुर थापाका अनुसार सदरमुकाम नजिक भए पनि भिरालो र कमजोर सडकका कारण ढुवानीमा कठिनाइ छ। अहिले दैनिक पाँचवटा गाडीमार्फत सुन्तला बजार पु¥याइने गरेको उनले बताए।
बेनीकोटमा किसानहरूले न्यूनतम २० देखि अधिकतम ८०० वटा सुन्तलाका बोट लगाएका छन्। यहाँ उत्पादित सुन्तला काठमाडौँ, चितवन र पोखरा लगायतका बजारमा आपूर्ति हुने गरेको छ। धान भित्र्याउने मौसम भए पनि बेनीकोटका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले गाउँ अहिले सुन्तला टिपाइ र बिक्रीमा व्यस्त छ।

