पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आज देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका यस्ता भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
आज राति पनि पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, राति कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

