भोटेकोशी बाढीमा १ हजार ४ सय ५७ जनाको मृत्यु, ४ हजार ७ सय २० जना बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ६ बजेसम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये १ हजार ४ सय ५५ वटा विभिन्न जिल्लामा भेटिएका हुन् भने दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो।
प्राप्त विवरणअनुसार चितवनमा सबैभन्दा बढी ३ सय ६९ जनाको शव फेला परेको छ। यस्तै, रसुवामा २ सय ३६, नवलपरासी पूर्वमा २ सय ३२, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा २ सय ५, गोरखामा ८०, धादिङमा ७३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
शव पहिचानका लागि हालसम्म शवका १ हजार ३ सय ३७ र आफन्तका २ हजार ९० गरी कुल ३ हजार ४ सय २७ वटा डीएनए नमुना सङ्कलन गरिएको छ। तीमध्ये ३ हजार ३ सय ८७ वटा नमुनाको प्रोफाइलिङ गरिएको छ। पहिचानका प्रक्रिया पूरा गरी १ हजार ३ सय ३५ वटा शव व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ। पहिचान हुन नसकेका १ हजार ४ सय ३८ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बेपत्ता भएका ४ हजार ७ सय २० जनाको खोजी कार्य जारी छ। यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा १ हजार २ सय ३१ जनालाई राखिएको छ।

