सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद
सुर्खेत । सुर्खेतका विभिन्न जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। चौकुने र बराहताल गाउँपालिकाका तीन छुट्टाछुट्टै स्थानबाट ती बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चौकुने गाउँपालिका–७ स्थित सान्नेघारीको जंगलबाट पाँच नाल र चौकुने गाउँपालिका–१ स्थित धामिसेनको जंगलबाट १२ नाल भरुवा बन्दुक बरामद गरिएको छ।
यस्तै, बराहताल गाउँपालिका–१ स्थित ज्यामिरेको जंगलबाट एक नाल भरुवा बन्दुक फेला परेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा लुकाइछिपाइ राखिएका बन्दुक फेला पारेको हो। बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि जंगलमा राखेको थियो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box

