पितृ पक्ष आज समापन हुँदै, भोलिदेखि बडादसैँको दुर्गा पक्ष सुरु
काठमाडौँ । दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आज समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आश्विन कृष्ण औँसीका दिन समाप्त हुन लागेको हो। पितृ पक्षको अन्तिम दिन आज औँसी श्राद्ध गरिन्छ। कुनै कारणवश यसअघि गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्न सकिने धार्मिक मान्यता छ।
आज पनि गर्न नसकिएमा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म, कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन वा अन्य उपयुक्त तिथिमा श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रका विद्वान्हरूले बताएका छन्। आश्विन शुक्ल प्रतिपदाका दिन भने आमाको बुबा अर्थात् मातामहको श्राद्ध गरिन्छ। पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदासमेत गरी १६ तिथिमा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो।
पितृ पक्षको अन्तिम दिन आज काठमाडौँ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट तथा त्रिवेणीलगायतका तीर्थस्थलमा पितृको नाममा श्राद्ध र तर्पण गर्ने भक्तजनको भीड लाग्ने गर्दछ। पितृ पक्षको समापनसँगै दुर्गा पक्ष अर्थात् बडादसैँको धार्मिक अनुष्ठान सुरु हुँदैछ। भोलि असोज २५ गते घटस्थापना गरेसँगै बडादसैँको औपचारिक सुरुवात हुनेछ।

