पोखरामा स्कुल बस दुर्घटना, १८ जनाको उद्धार
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८, ओख्लेमा स्कुल बस दुर्घटना हुँदा १८ जनाको उद्धार गरिएको छ। कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार उद्धार गरिएका १८ जनामध्ये १६ जना अस्पताल पुगिसकेका छन् भने दुई जनालाई अस्पताल लैजाँदै गरिएको छ।
पोखरा–२८ माझठानाबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको थियो। घाइते विद्यार्थीहरूलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।
बसमा कति जना विद्यार्थी सवार थिए भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन। दुर्घटनामा घाइते भएकाहरूको अवस्थाबारे पनि चिकित्सकबाट थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा बस नराम्ररी क्षतिग्रस्त भएको छ भने उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

