अमेरिकासँग वार्ताका लागि इरानी टोली इस्लामाबादमा

काठमाडौँ,  २८ चैत  –इरानअमेरिका बीच शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको छ । बीबीसी उर्दुका अनुसार पाकिस्तान को विदेश मन्त्रालयले इरानी टोलीको आगमन पुष्टि गरेको हो । उक्त टोलीलाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दार ले नुर खान विमानस्थलमा स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा राष्ट्रियसभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख सैयद असिम मुनिर तथा आन्तरिक मन्त्री सैयद मोहसिन रजा नक्वी को पनि उपस्थिति रहेको थियो । इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ ले गरेका छन् । टोलीमा विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती लगायत सहभागी छन् ।

उता अमेरिकी पक्षको वार्ता टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स ले गर्ने जनाइएको छ । वार्ताअघि गालिबाफले लेबनन मा युद्धविराम र इरानको फ्रिज गरिएको सम्पत्ति फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन् । उनले यी विषयमा सहमति भइसके पनि कार्यान्वयन नभएको बताएका छन् । यसैबीच, इजरायल ले लेबननमा हवाई आक्रमण जारी राखेकाले युद्धविरामको दायरा सम्बन्धी विवाद बढेको छ । लेबननका अनुसार पछिल्ला आक्रमणमा ठूलो मानवीय क्षति भएको छ ।

Facebook Comments Box