पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि, निगम अझै घाटामा
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, निगम अझै घाटामा
काठमाडौं, २६ चैत – नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ । यससँगै पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ ।
निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजनपछि पनि पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको छ । हाल पेट्रोलमा प्रतिलिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको उल्लेख गरिएको छ ।
निगमले लागत मूल्यअनुसार पूर्ण रूपमा मूल्य समायोजन नगरी आंशिक वृद्धि गरिएको स्पष्ट पारेको छ । सोअनुसार पेट्रोल, डिजेल/मट्टितेल र ग्याससँगै हवाई इन्धन (आन्तरिक) पनि प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ । अब १४.२ केजी एलपी ग्यासको मूल्य २,०१० रुपैयाँ पुगेको छ ।
मूल्य वृद्धि गरिए पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । निरन्तर घाटा बढेमा इन्डियन आयल कर्पोरेसन लाई भुक्तानीमा समस्या आउन सक्ने र आपूर्ति व्यवस्थापनमा असर पर्न सक्ने भन्दै निगमले उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ ।


