माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सुरु

काठमाडौँ, १९ चैतः राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सुरु भएको छ। यस वर्ष परीक्षा थप पारदर्शी, व्यवस्थित र छिटो नतिजा प्रकाशन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका लागू गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभर तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा परीक्षा सुरु भएको हो।

यस वर्षको एसइई चैत २९ गतेसम्म सञ्चालन हुनेछ। यसपटक कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका छन्। सहभागीमध्ये छात्राको सङ्ख्या बढी रहेको छ। जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ विद्यार्थी सहभागी भएका छन्।

देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका छन्। प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमार्फत सम्बन्धित केन्द्रमा पठाइसकिएको बोर्डले जनाएको छ।परीक्षा सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरीसहित आवश्यक जनशक्ति खटाइएको छ। यस वर्ष परीक्षा सम्पन्न भएको अधिकतम तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सक्ने लक्ष्य राखिएको छ।

नयाँ व्यवस्थाअनुसार उत्तरपुस्तिका परीक्षण केन्द्रमै सिसिटिभी जडित सुरक्षित कक्षमा गरिनेछ। उत्तरपुस्तिका बाहिर लैजान नपाइने, मोबाइलजस्ता विद्युतीय उपकरण प्रयोगमा रोक लगाइने तथा तोकिएका परीक्षकबाटै परीक्षण गराउनुपर्ने प्रावधान लागू गरिएको छ। त्यस्तै, यस वर्ष सामूहिक अनुगमनमा समेत रोक लगाइएको छ। परीक्षा अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरमा समिति गठन गरिएको छ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। त्यसपछि चैत २० गते अनिवार्य नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ र २६ गते ऐच्छिक विषय तथा चैत २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन हुने तालिका रहेको छ।

Facebook Comments Box