महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ, १७ चैत – सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश दिने महावीर जैन को २६२५औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । इसापूर्व ५९९ मा भारतको वैशाली नजिक कुण्डलग्राममा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उहाँको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्ति र सत्यको खोजीमा उहाँले सांसारिक जीवन त्यागी तपस्यामा लाग्नुभएको थियो ।
करिब १२ वर्षको कठोर तपस्यापछि उहाँले जैन दर्शनको प्रचार–प्रसार गर्नुभएको मानिन्छ । जैन धर्मअनुसार २४ तीर्थङ्करमध्ये अन्तिम तीर्थङ्करका रूपमा मानिने महावीर जैन ले मानव जीवनका लागि अहिंसा, सत्य र सीमित उपभोगको मार्ग देखाउनुभएको थियो । अरूलाई दुःख दिनु नै हिंसा भएकाले परोपकार नै अहिंसा हो भन्ने उहाँको मूल सन्देश रहेको छ ।
नेपाल जैन परिषद का अध्यक्ष सुशीलकुमार जैन का अनुसार तीर्थङ्करले धर्मको बाटो देखाउने भएकाले उनीहरूलाई विशेष सम्मानका साथ स्मरण गर्ने गरिन्छ । महावीर जैनको ‘उत्तराध्ययन सूत्र’ जैन साहित्यको महत्वपूर्ण कृतिका रूपमा परिचित छ । यसको नेपाली अनुवाद मणिभद्र मुनिजी ले गर्नुभएको हो । जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद सहित विभिन्न संघसंस्थाले प्रवचन, पूजा तथा सचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन् ।

