निर्वाचनलाई मध्यनजर गर्दै ६ दिन सार्वजनिक बिदा दिन साइपालका युवाको माग
काठमाडौँ, २७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बझाङको साइपाल गाउँपालिकाका युवाहरूले ६ दिनसम्म सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन्। निर्वाचनमा मतदाताको सहभागिता बढाउन फागुन १८ गतेदेखि २३ गतेसम्म सार्वजनिक बिदा आवश्यक रहेको भन्दै उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई इमेलमार्फत ज्ञापनपत्रसमेत पठाएका छन्।
ज्ञापनपत्रमा प्रतिनिधिसभा निर्वाचनलाई केवल प्रशासनिक प्रक्रिया मात्र नभई राष्ट्रको भविष्य निर्धारण गर्ने ऐतिहासिक र लोकतान्त्रिक पर्वका रूपमा उल्लेख गरिएको छ। “प्रतिनिधिसभाको निर्वाचन केवल एक प्रशासनिक कार्यमात्र नभई यो राष्ट्रको भाग्य र भविष्य कोर्ने, ऐतिहासिक तथा लोकतन्त्रको आत्मालाई सशक्त बनाउने महान् राष्ट्रिय पर्व हो,” ज्ञापनपत्रमा भनिएको छ, “यो दिन नागरिकको आवाज मतपत्रमार्फत बोल्ने दिन हो।
त्यसैले निर्वाचनलाई सहज र व्यापक सहभागितामूलक बनाउनु राज्यको सर्वोच्च दायित्व हो।” ज्ञापनपत्रअनुसार फागुन १८ गते पहाडी क्षेत्रमा र १९ गते तराई क्षेत्रमा होली पर्व परेकाले ती दुवै दिन देशैभर सार्वजनिक बिदा दिनुपर्ने माग गरिएको छ। यस्तै, फागुन २० गते निर्वाचनको अघिल्लो दिन भएकाले तयारी तथा यात्रा सहजताका लागि बिदा आवश्यक रहेको उल्लेख छ।
फागुन २१ गते निर्वाचनको दिन सार्वजनिक बिदा हुने नै भएकाले २२ गते शुक्रबार परेकाले मतदाता आफ्नो कार्यस्थल वा गन्तव्यमा फर्कन समय दिनुपर्ने माग गरिएको छ। फागुन २३ गते शनिबार पर्ने भएकाले कुल ६ दिनको बिदा हुन जाने उनीहरूको भनाइ छ।
साइपाल गाउँपालिकाका युवा साजन बोहराका अनुसार अन्य बिदा स्वाभाविक रूपमा परेकाले फागुन २० र २२ गते मात्रै सरकारले निर्णय गरेर सार्वजनिक बिदा दिनुपर्ने हो। “यसरी ६ दिनसम्म बिदा दिइएमा कामको सिलसिलामा घरबाहिर रहेकाहरू पनि मतदानका लागि घर फर्कन सक्नेछन्,” बोहराले बताए।
उनले नेपालको भौगोलिक बनावट, कमजोर यातायात व्यवस्था, रोजगारीको स्वरूप तथा देशभर फैलिएका विभिन्न पेशा र उद्योगलाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय लिनुपर्ने आवश्यकता औँल्याए। “विदेशमा रहेका नेपाली नागरिकका लागि तत्काल मतदानको वातावरण बनाउन नसकिए पनि कम्तीमा देशभित्र रहेका नागरिकलाई मतदान गर्ने सहज वातावरण त बनाउनुपर्यो,” बोहराले भने, “यसले देशव्यापी मतदाता सहभागिता उल्लेख्य रूपमा बढाउनेछ।”

