बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य
बागलुङ, २७ माघ – लामो समयको प्रयासपछि बागलुङस्थित रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) बनाउन थालिएको छ। धवलागिरि प्रादेशिक अस्पतालअगाडि रहेको रक्तसञ्चार केन्द्रमा आवश्यक उपकरणको अभावका कारण यसअघि सेतो रगत उत्पादन हुन नसक्दा जटिल बिरामीलाई पोखरा वा काठमाडौँ रेफर गर्नुपर्ने बाध्यता थियो।
लामो प्रयास र झण्डै एक करोड रुपैयाँको लगानीमा प्रयोगशाला स्थापना भएपछि आइतबारदेखि सेतो रगत उत्पादन सुरु भएको हो। नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यका अनुसार विभिन्न निकायको सहयोगमा करिब एक करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न प्रयोगशाला स्थापना गरिएको छ। प्रयोगशालामा तालिमप्राप्त प्राविधिकको समेत व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।
बागलुङमै प्लेटलेट्स/प्लाज्मा उत्पादन सुरु भएपछि धवलागिरि प्रादेशिक अस्पतालबाट जटिल अवस्थाका बिरामी रेफर हुने सङ्ख्या घट्ने अपेक्षा गरिएको छ। अस्पतालका प्रमुख डा. किरण तिवारीका अनुसार विशेषज्ञ सेवा तथा जटिल रोगको उपचारका लागि सेतो रगत अत्यावश्यक हुने गर्दछ। यसअघि सेतो रगत उपलब्ध नहुँदा जटिल समस्या भएका बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता रहेकोमा आइतबारदेखि त्यो अवस्था अन्त्य भएको उहाँले जानकारी दिनुभयो।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले दुई वर्षअघि बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पोनेन्ट सेन्ट्रिफ्युज) उपलब्ध गराएको थियो। प्रदेश सरकारको रु १५ लाख, बागलुङ नगरपालिकाको रु पाँच लाख, जैमिनी नगरपालिकाको रु तीन लाख, गलकोट नगरपालिकाको रु दुई लाख र बरेङ गाउँपालिकाको रु एक लाख ५० हजार गरी कुल रु २६ लाख ५० हजार लागतमा अन्य उपकरण खरिद गरिएको थियो।
उपकरण आए पनि प्रयोगशालाको पूर्वाधार निर्माण नहुँदा काम रोकिएको थियो। बागलुङ समाज जापानले रु १३ लाख ५० हजार सहयोग गरेपछि प्रयोगशाला निर्माण सुरु भएको केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताउनुभयो। भवन, उपकरण र अन्य व्यवस्थासहित झण्डै एक करोड रुपैयाँको लागतमा सेतो रगत उत्पादन सुरु गरिएको उहाँको भनाइ छ।
विशेषगरी डेङ्गी सङ्क्रमणका कारण प्लेटलेट्स घटेका, सर्पदंश, शल्यक्रिया तथा अत्यधिक रक्तस्राव भएका बिरामीलाई सेतो रगत आवश्यक पर्ने गर्दछ। डा. तिवारीका अनुसार बिरामीको प्लेटलेट्सको मात्रा ३० हजारभन्दा कम भएमा सेतो रगत आवश्यक पर्छ। सेतो रगतको अभावकै कारण उपचार सम्भव भएका बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता अब अन्त्य भएको उहाँले बताउनुभयो।

