खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागद्वारा अनुगमन तीव्र

काठमाडौँ, २७ माघ – बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएको छ।

विभागले उपभोक्तालाई राहत दिन तथा दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमाथि अन्य सम्बन्धित निकायको सहयोगमा संयुक्त रूपमा निरन्तर बजार अनुगमन गरिरहेको जनाएको छ।

उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र कृत्रिम अभाव गराउनेलाई कारबाहीको दायरामा ल्याउन प्रभावकारी अनुगमन गरिएको विभागको भनाइ छ। पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई दुःख दिने कार्य बढेको भन्दै कानुनविपरीत गतिविधिमा संलग्नलाई कारबाही गरिएको विभागले स्पष्ट पारेको छ।

विभागले प्रचलित कानुनविपरीतका कुनै पनि क्रियाकलाप पाइएमा सम्बन्धितलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति रहेको दाबी गरिरहेको भए पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि विभागले सक्रियता बढाएको जनाएको छ।

Facebook Comments Box