निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ, २७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, भक्तपुरमा भइरहेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कुल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथर जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ।

यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर र मुस्ताङ जिल्लाको पनि मतपत्र छपाइ सकिएको छ।

लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया समेत गरी कुल ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ। छपाइ सम्पन्न भएका जिल्लाका मतपत्रको प्याकिङसमेत भइसकेको र हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ गरिएको सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका मतपत्र छपाइ कार्य गत पुस २२ गतेदेखि सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ गत पुस २६ गतेदेखि मतपत्र छपाइ सुरु गरी माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ, प्याकिङ तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ। सो प्रयोजनका लागि माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र छपाइ सुरु भएको हो।

Facebook Comments Box