इतिहासको संघारमा पुगेर चुक्यो नेपाल, इङ्ग्ल्यान्डसँग चार रनको हार
काठमाडौँ, २६ माघ – इतिहास रच्ने अवसर नजिकै पुगेर असफल हुँदा कस्तो पीडा हुन्छ भन्ने अनुभूति अहिले नेपाली क्रिकेट टिम र समर्थकले गरिरहेका छन्। आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाल आइतबार दुई पटकको विजेता तथा उपाधिको प्रमुख दाबेदार इङ्ग्ल्यान्डसँग चार रनले पराजित भयो।
पछिल्ला ११ मध्ये १० टी–२० खेल जितेको इङ्ग्ल्यान्डलाई यस विश्वकपको बलियो दाबेदार मानिएको थियो। भारतको मुम्बईस्थित भरिभराउ वानखेडे क्रिकेट रङ्गशालामा नेपालले टी–२० विश्वकप इतिहासकै स्तब्धकारी नतिजा निकाल्न अन्तिम बलमा एक ठूलो ‘हिट’ मात्र आवश्यक थियो।
१९ बलमा ३८ रन बनाइसकेका लोकेश बम स्ट्राइकमा थिए। तर साम करनले फालेको ‘लो फुल टस’ बलमा उनले एक रन मात्र जोड्न सके र पहिलो भेटमै इङ्ग्ल्यान्डलाई हराएर इतिहास रच्ने अवसर नेपालले गुमायो। नेपालले अन्तिम नौ बलमा १३ रन जोड्न सकेन। अन्तिम ओभरमा करनले मात्र पाँच रन खर्चिएर इङ्ग्ल्यान्डको इज्जत जोगाए।
टी–२० विश्वकपमा नेपालले यस्तो हृदयविदारक क्षणको सामना गरेको यो दोस्रो पटक हो। इङ्ग्ल्यान्डविरुद्धको जितले सन् २०२४ मा दक्षिण अफ्रिकासँग एक रनले बेहोरेको हारको पीडामा मलम लाग्ने थियो। दुई वर्षअघि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा पनि नेपालले दक्षिण अफ्रिकासँग दुई बलमा दुई रन बनाउन नसक्दा निराशा भोगेको थियो।
हार भए पनि यस विश्वकपमा नेपालको सुरुवात उत्साहजनक रह्यो। कुशल भुर्तेलको पावर–प्लेमा सानदार ब्याटिङ, कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीच मध्य ओभरमा बनेको साझेदारी तथा लोकेशको डेथ ओभरको विस्फोटक ब्याटिङ हुँदाहुँदै नेपाल अन्तिम क्षणमा चुक्यो। टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा सात विकेटको क्षतिमा १८४ रन बनाएको थियो। जवाफमा नेपालले छ विकेट गुमाउँदै १८० रन मात्र जोड्न सक्यो।
लक्ष्य पछ्याउने क्रममा नेपाललाई कुशल भुर्तेल र आसिफ शेखबाट राम्रो सुरुवात आवश्यक थियो। आसिफ सात रनमै आउट भए पनि भुर्तेलले अपेक्षाअनुसार आक्रामक सुरुवात दिलाए। उनले विश्वकै चर्चित तेज बलर जोफ्रा आर्चरको पहिलो ओभरमै १६ रन बटुले। दोस्रो ओभरमा ल्युक वुडमाथि पनि एक छक्का र एक चौका प्रहार गरे। भुर्तेल १७ बलमा चार चौका र एक छक्कासहित २९ रन बनाएर स्पिनर विल ज्याक्सको बलमा आउट भए।
स्पिन आक्रमणपछि नेपालको रनगति केही सुस्त भयो। तर रोहित र दीपेन्द्रले तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै पालि सम्हाले। १० ओभर सकिँदा नेपालले दुई विकेटको क्षतिमा ८५ रन बनाइसकेको थियो। यी दुईलाई इङ्ग्ल्यान्डका प्रमुख स्पिनर आदिल रसिदले पनि रोक्न सकेनन्।
करनको स्लो बलमा ठूलो सट खेल्दै अर्धशतक पूरा गर्ने प्रयासमा दीपेन्द्र आउट भए। उनले २९ बलमा छ चौका र एक छक्कासहित ४४ रन बनाए। त्यसपछि अर्को ओभरमा रोहित ३९ रनमा आउट हुँदा खेल इङ्ग्ल्यान्डतर्फ ढल्किने अनुमान गरिएको थियो। तर लोकेश बमले २० बलमा चार चौका र दुई छक्कासहित अविजित ३९ रन बनाएर अन्तिम क्षणसम्म खेल रोमाञ्चक बनाए।
इङ्ग्ल्यान्डका लागि लियाम डसनले दुई तथा वुड, आर्चर, विल ज्याक्स र करनले एक–एक विकेट लिए। आर्चरले चार ओभरमा ४० रन तथा आदिलले तीन ओभरमै ४२ रन खर्चिए। यसअघि नेपालका स्पिनर शेर मल्लले टी–२० विश्वकपमा पदार्पण खेलको पहिलो बलमै फिल साल्टलाई एक रनमा आउट गरे। मल्लअघि विश्वकप पदार्पणको पहिलो ओभरमै विकेट लिने खेलाडीमा फिडेल एडवार्ड्स, प्रज्ञान ओझा, पारस खड्का, नदिम अहमद र खुराम खान पर्छन्।
इङ्ग्ल्यान्डका लागि ज्याकब बेथलले ५५ र कप्तान ह्यारी ब्रुकले ५३ रनको अर्धशतक बनाए। तर अन्त्यतिर विल ज्याक्सले १८ बलमा चार छक्का र एक चौकासहित अविजित ३९ रन बनाएर नेपाललाई सबैभन्दा ठूलो चोट दिए। उनले करण केसीको अन्तिम ओभरमा तीन छक्का प्रहार गरे। अलराउन्ड प्रदर्शन गरेका ज्याक्स नै ‘प्लेयर अफ दी म्याच’ घोषित भए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई–दुई तथा शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट लिए। समूह ‘सी’ मा रहेको नेपालले दोस्रो खेलमा बिहीबार पहिलो पटक विश्वकप खेलिरहेको इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

