काठमाण्डौ उपत्यकामा वायु प्रदूषण उच्च स्वास्थ्यका लागि हानिकारक
काठमाण्डौ उपत्यकामा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ ।
हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिनेमा अहिले काठमाण्डौका भक्तपुर, कीर्तिपुर, भैँसेपाटी लगायतका ठाउँमा भएका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाएका छन् ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले जानकारी दिनुभयो । अहिले सिमराको एक्यूआई दुई सय ६० पुगेको छ ।
प्रि-मनसुनको समयमा औसतभन्दा निकै कम पानी पर्नु तथा डढेलो र औद्योगिक गतिविधिका कारण वायु प्रदूषण बढेको प्रवक्ता जोशीले बताउनुभयो । उहाँका अनुसार केही दिनयता काठमाण्डौ, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनगर, सिमरा, जनकपुर, धनगढीलगायतका ठाउँमा हावाको प्रदूषण बढेको छ। आज उपत्यकामा बाक्लो तुवाँलो पनि देखिएकोले समस्या थपिएको भन्दै जोशीले सकभर घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभयो ।
(भोली) र पर्सी (आइतवार) सार्वजनिक बिदा रहेकाले वायु प्रदूषण केही घट्ने अपेक्षा गरेको र पर्सीसम्म नघटेमा वायु प्रदूषणबारेको चेतावनीसहित विज्ञप्ति निकाल्ने उहाँले बताउनुभयो ।
तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरी पानी पर्ने वा त्यसलाई बढार्ने गरी हावा नचले समस्या अझै बढ्ने जोशीको भनाइ छ । यद्यपि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
तराईसहित विभिन्न ठाउँका जङ्गलमा लागेको डढेलोको धुवाँ हावामा मिसिँदा वायु प्रदूषण बढेको उहाँले बताउनुभयो । काठमाण्डौ कचौरा आकारको भएकाले हावा बाहिर बहने ठाउँ नभएकाले धुम्मिएको उहाँको भनाइ छ । यसैबीच काठमाण्डौको आकाशमा तुवाँलो लागेर भिजिविलिटी कम भएपछि हवाई उडान प्रभावित भएको छ ।
भिजिविलिटी कम भएपछि आन्तरिक र बाह्य दुवैतर्फको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
अहिले काठमाण्डौको आकाशको भिजिविलिटी १ हजार मिटर रहेको छ । १५ सय मिटरभन्दा कम भिजिविलिटी भएमा हवाई उडान प्रभावित हुन्छ । कतिपय विमान आकाशमै होल्ड भएका छन् । मौसम सुध्रने अवस्था नभएपछि कतिपय जहाज डाइभर्ट गरिएको छ ।